गिता राना मगर, पोखरा १२ चैत्र । पोखराबाट मोटरसाइकल चोरी गरी तनहु र स्याङजाको विभिन्न ग्रामीण भेगमा बिक्री गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गर्न सफल भएको छ । कास्की प्रहरीले मोटरसाइकल चोरी गर्ने १९ जना ८ वटा मोटरसाइकल सहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । गत शनिवार पोखराको बिन्दबासिनी चलचित्र घरबाट मोटरसाइकल चोरी गर्दै गर्दा पोखरा रामबजारका बिकाश क्षेत्री र सोही ठाउकै अभिषेक सुनारलाई रंगेहात पक्रा गर्न सफल भएपछि मोटरसाइकल चोरी गर्ने गिरोहलाई दुई दिन लगाएर पक्राउ गर्न सफल भएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले वताए ।
फिल्म हलबाट मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेपछि मोटरसाइकल चोरी गर्ने गिरोह पत्ता लगाउन कास्की प्रहरी सफल भएको हो । मोटरसाइकल चोरी गर्ने पोखराका बिकास र अभिषेकले तनहु भिमाद गाउपालिका माझकोटका दिवश राना संग मिली स्याङजा र तनहुको भिमाद आसपासका गाउमा मोटरसाइकल बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको हो । पोखराबाट मोटरसाइकल चोरी गर्नासाथ भिमादका दिवश राना स्वयं आफै मोटरसाइक लिन आउने गरेको र रानाले भिमादको कंडेलचोकमा रहेको कृत एण्ड सन्स मोटरसाइकल वर्कसपमा लगी नम्बर परिवर्तन गर्ने गरेको समेत खुल्न आएको छ । प्रहरीले मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका भिमाद बागटारका तीर्थ बहादुर परियार र उनका छोरा अर्जुन परियार सहित वर्कसपमा काम गर्ने चार जना मिस्त्रीलाइ समेत पक्राउ गरेको छ ।
मोटरसाइकल चोरी गरी पक्राउ पर्नेहरुमा बुङदीकाली गाउपालिका ३ सिउनका युवराज रुचाल, इनरुवा नगरपालिका गोटवडिवाका उचिर चुरिहार, भिमाद पिरुङका सुनिल थापा र सुरज राना, भारत मोतिहारी सिक्ताको संम्शाद आलम, स्याङजा हरिनास गाउपालिका देगाछापका अरुण आले, हरिनास गाउपालिका दुरुजाका ओम राना, हरिनास गाउपालिका गिरकोटका रेशम आले, भिमाद राङरुङका रेशम आले, भिमाद पाङमिका लक्ष्मण परियार, स्याङजा हरिनाश चाङसिङका डोलचन्द्र ठकुरी, सोही ठाउका हिरा सिंह थापा, र वारा विरगंज गाउपालिका त्रिवेणीका रामबाच दास रहेका छन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा १४ जनाको टोलीले तीन दिनमा चोरी गर्ने गिरोहलाई मोटरसाइकल सहित पक्राउ गर्न सफल भएको थियो । चोरीमा संलग्न गिरोहले १ सय ८० र २ सय २० सिसीका पल्सर मोटरसाइकल चोरी गरी प्रति मोटरसाइकल ४० देखी ६० हजारमा बिक्री गर्ने गरेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । मोटर साइकलहरु भिमादको ग्रामीण भेगबाट ५ र स्याङजाको गिरकोटबाट ३ वटा फेला परेको थियोभने भिमादमा भलिवल खेलाडीहरुले मोटरसाइकल प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धानबाट पोखराको विभिन्न ठाउबाट बिगत ६ महिना देखि चोरी गर्ने गरेको र चोरी गरी तनहुको भिमाद हुदै स्याङजाको ग्रामीण भेग सम्म पु¥याउने गरेको पाईएको छ । यसरी हेर्दा तनहुको भिमादमा रहेको प्रहरी चेक पोष्ट पनि चोरीमा संलग्नहरुलाई प्रश्रय दिएको पाइन्छ ।