पोखरा । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१ औं स्मृति दिवसको अवसरमा सोमबार कास्कीमा खुला रक्तदान आयोजना गरियो ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीको आयोजना तथा राष्ट्रिय युवा संघ नेपाल कास्कीको व्यवस्थापनमा भएको कार्यक्रममा १ सय १ युनिट रगत संकलन भएको छ । नेकपा स्थायी समिति सदस्य सोमनाथ प्यासीले पहिलो रक्तदाता रामप्रसाद खनाललाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए ।
कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापा, साविक युवा संघ नेपालका केन्द्रीय सचिव पूर्ण लामा र साविक वाइसिएलका केन्द्रीय सदस्य तथा कार्यक्रम व्यवस्थापन समिति संयोजक नवीन गुरुङ, राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष डिल्लीराम सुवेदी लगायतले पुष्पलालको योगदानको चर्चा गरे ।
नेकपा कास्की वडा कमिटी वडा नम्बर ७ र पुष्पलाल स्मृतिपार्क व्यवस्थापन समितिको व्यवस्थापनमा मंगलबार बिहान मासबार स्थित पुष्पलाल पार्क सरसफाइ तथा पुष्पलालको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ । पुष्पलाल अध्ययन केन्द्र गण्डकीले मंगलबार पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरीको फेदीपाटनमा पुष्पलाल र बलराम उपाध्यायको शालिक प्रतिस्थापन गर्ने जनाएको छ ।
नेकपा जिल्ला कमिटी कास्कीले मंगलबार नै नेपाली कम्युनिस्ट आन्दोलन र पुष्पलाल विषयक गोष्ठी गर्दै छ ।पार्टी जिल्ला कमिटीको आयोजना र नेपाल राष्ट्रिय वाणिज्य संघको संयोजन र व्यवस्थापनमा साउन ७ देखि ९ गतेसम्म बगालेटोलस्थित सोपाल तमु समाजको भवनमा व्याडमिन्टन प्रतियोगिता गर्ने नेता दामोदर बैरागीले बताए । नेकपा कास्कीले सबै पार्टी सदस्यलाई पुष्पलाल स्मृतिमा फलफूलका २ वटा बिरुवा अनिवार्य रोप्न निर्देशन दिएको छ ।