पोखरा ।
बुद्धटोल युवा क्लब बगरले पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानलाई मर्मत संभार गरेको छ । लकडाउनको समयमा मर्मत संभारसँगै दुबो रोपेपछि मैदान हरियाली भएको छ ।
‘कोरोनाका कारण लकडाउन भयो, यही समयमा हामीले मैदानलाई मर्मत गरेका हौं, क्लबका सल्लाहकार सन्तोष गुरुङले भने । गुरुङले लकडाउन सुरु भएसँगै मैदानको लेभलिङ गरेको बताउदै मल छरेको बताए ।
‘एकजनालाई कामदारलाई लगाएर सुरुमा कुलो काट्ने काम गरियो, त्यसपछि खाल्डाहरु पुर्ने काम भए र पछि मल छर्यौ । अहिले दुबो पलाएर हरियाली भैसकेको छ ।’ उनले सो मैदानको छेउछाउमा रहेको दुबोलाई विचभागमा सारेको बताउदै पूर्ण रुपमा सर्न केही महिना लाग्ने जानकारी दिए ।
‘मैदानको माथिल्लो भागमा ग्रेगर भएकाले सर्न अलि समय लाग्ने रहेछ, उनले भने, ‘तलतिरको भागमा चाँही मलिलो माटो भएकोले सजिलै दुबो पलाएको छ । अझ सेट हुन समय लाग्छ ।’ सल्लाहकार गुरुङले मर्मत संभारमा ८ हजार खर्च भएको बताउदै सो रकम क्लबले जुटाएको जानकारी दिए ।
त्यस्तै ईन्द्रेणी एकेडेमीका संस्थापक हिटलर घलेले उक्त मैदान राष्ट्रिय माविको स्वामित्वमा रहेको बताउदै दुबो उमार्न प्रयोग हुने मल विद्यालय र आफुले सहयोग गरेको बताए । ‘टुर्नामेन्ट चाँही सबैले खेलाउछन, ग्राउण्ड बनाउन कसैले खोज्दैनन्, उनले भने, ‘सबैले त्यही बलेको आगो ताप्ने मात्रै त होनी ।’
घलेले उक्त मैदान मर्मत संभारका लागि केन्द्रबाट २५ लाखको बजेट विनियोजन भएको बताए । यही वर्षमै काम हुने गरि बजेट परेको छ । ‘अब समिति बनाएर काम गर्ने प्रक्रियामा छ । तर समितिमा खेलकुदलाई बुझ्ने व्यक्तिहरु हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’ घलेले भने ।
खेलकुद तथा विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको बुद्धटोल युवा (बिटी) क्लबले गत ५ गते पोखरा महानगरपालिका १ बगरस्थित गाईघाट, हरिचोक, सिमपानी, मिलिजुली मार्ग लगायतको विभिन्न ६३ विपन्न परिवारलाई ७५ हजार बराबरको चामल, दाल, नून, तेल लगायतको खाद्यान्नका सामाग्री वितरण गरेको थियो ।